FAQs Complain Problems

संक्षिप्त परिचय

पूर्वाञ्चल विकास क्षेत्रमा अवस्थित धरान, नेपालकै एक सुन्दर तथा विविध सांस्कृतिक विविधता भएको सहर हो । यो कोशी प्रदेश को सुनसरी जिल्लामा पर्छ ।

महाभारतकालीन ईतिहास बोकेको र पछिल्लो समयमा किरात राजधानीको रुपमा रहेको विजयपुर धरान नगरको शिर हो । विजयपुरको ईतिहास खोतल्दा सतिदेविको दन्त पतन भएको किम्वदन्ति र दन्तकाली मन्दिरको अवस्थिति एवं ५०० वर्ष पहिले बंगालका राजाले जिर्णोद्धार गरेको पिण्डेश्वर मन्दिरको अभिलेखहरुबाट यो स्थान पुरातात्विक, पौराणिक एवं ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको छ । हालको आधुनिक धरान सहर रहेको स्थानमा सुरुमा घना जङ्गल रहेको र सो जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको धरान सहरको नामकरण भएको भन्ने भनाई छ ।

विजयपुरमा धेरै अघि देखि बसोबास भएको भएता पनि वि.स. १९५० तिर घना जङ्गल फँडानी गरेर समतल क्षेत्रमा सानो बस्तीबाट सुरुवात भएको धरान, वि.स. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर (हाल पुरानो बजार) र वि.स. १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेको इतिहासमा पाइन्छ ।

वि.स. २०१० सालमा पूर्वाञ्चलको लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भए पछि मुख्य रुपमा धरानमा बसोबास तथा चहलपहल बढेको पाइन्छ । वि.स. २०१७ सालमा धरान नगरपालिका घोषित भएको धरान, वि.स. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकाम समेत घोषित भएको थियो ।

सुरुमा ११ वडाहरू मात्र रहेको धरानलाई वि.स. २०३५ सालमा पूर्वतर्फ रहेको बाँझगरा गाउँ पञ्चायत र पश्चिम तर्फ रहेको घोपा गाउँ पञ्चायतको केहि केहि क्षेत्रलाई गाभेर क्षेत्र विस्तार गरी १९ वडामा विभाजन गरिएकोमा २०७१ वैशाख २५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पाँचकन्या गा.वि.स.लाई पनि धरान नगरपालिकामा गाभी २३ वडा कायम गरियो । २०७१ मंसिर १६ गते नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णय अनुसार विष्णुपादुका गा.वि.स.लाई धरान नगरपालिकामा गाभेर २७ वडा कायम गरि धरान नगरपालिकालाई उपमहानगरपालिका घोषित गरिएको हो ।  संघीय पुनर्संरचना आयोगको निर्णयानुसार वर्तमान धरान फेरि २० वटा वडामा पुनर्संरचित भएको छ। 

विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान हाल आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रूपमा विकास हुँदै पूर्वाञ्चलको मात्र नभइ नेपालकै नमुना नगरपालिका बन्न प्रयासरत छ ।

संक्षिप्त झलक

 स्थापना २०१७ कार्तिक ३० गते उद्घाटन वडा हाकिम श्री हरिप्रसाद गिरी । प्रथम नगर प्रमुख श्री केदारनाथ खनाल ।  प्रथम वोर्ड वैठक अफिस भाडामा लिने विषयकमा २०१७ मंसिर १२ गते दिउसो ११ वजे ।  प्रजातन्त्र पुनर्स्थापना भए पश्चातका निर्वाचित प्रथम मेयर श्री ध्यानबहादुर राई र उपमेयर श्री मनोजकुमार मेयाङवो ।  २०७१ वैशाख २५ गतेको मंन्त्रि परिषदको वैठकवाट छिमेकी पाँचकन्या गा वि स धरानमा एकिकृत -समायोजन भएको । २०७१ मंसिर १६ गतेको मंन्त्रि परिषदको निर्णयवाट छिमेकी गा वि स विष्णुपादुकालाई धरान नगरपालिकामा एकिकृत - समायोजन गरिएको र सोही दिनदेखि धरान नगरपालिका उप-महानगरपालिकामा परिणत भएको ।
साविक धरान नगरपालिकाका १९ वडाहरु यथावत कायम राखी पाँचकन्या गा.वि.स. र विष्णुपादुका  गा.वि.स. का वडाहरू  धरान उपमहानगरपालिकामा समायोजन भएपछि गा. वि. स. का साविक वडाहरू उपमहानगरपालिकामा निम्न बमोजिम कायम भएका हुन । 

धरानका विशेषताहरू

  • तराई देखि पहाड सम्म (ईटहरी उपमहानगरको पानीपिया देखि धनकुटाको साँगुरीगढी गाँउपालिकाको आधि भेडेटार बजारसम्म) फैलिएको भौगोलिक विविधता भएको।
  • तीन तिर पहाडी धरातलले घेरेको, एकतिर आफ्नै चारकोशे ज‌ंगल रहेको र पूर्वमा बुढिखोला देखि पश्चिममा पटनाली खोला सम्म फैलिएको ।
  • समशीतोष्ण प्रकारको हावापानी पाईने ।
  • थोरै दूरीमा पनि उचाइको धेरै फरक रहेको । (४ कि.मि.को दूरीमा ३०५ मी‌ देखि ७०० मी सम्म)
  • भिरालो प्रकारको जमिन ।
  • पहाड र तराईको संगम स्थल (भाबर प्रदेश) ।
  • पूर्व ब्रिटिस सैनिकहरूको बाक्लो बसोबास रहेको ।
  • तराईको गर्मी देखि उच्च पहाडी लेकको चिसो मौसम रहेको।

उपमहानगरपालिकाका विशेषताहरू

  • उप-महानगरपालिकाको पूर्वाधार विकासमा अत्याधिक जनसहभागिता जुट्ने । स्कूल, सडक, खानेपानी विस्तार फोहरमैला व्यवस्थापन आदिमा ।
  • स्थानीय नेतृत्वबाट उप-महानगरपालिकाको २० वर्षे दीर्घकालीन सोच (Vision) तयार गरिएको ।
  • दीर्घकालीन सोचको आधारमा नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने गरिएको ।
  • विभिन्न सरकारी तथा गैर सरकारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ संस्थाहरूसँग सुमधुर सम्बन्ध कायम गरी काम गर्ने गरिएको । (udle/GTZ, UNICEF, TDF, Peace Corps, JICA, NSET-Nepal, SEAM-N etc.)
  • विभिन्न क्षेत्रमा अग्रणी स्थानमा रहेको ।
  • सडकमा आधारित घर नम्बरीङ्ग ।
  • कम्प्युटरीकृत जनशक्ति सूचना प्रणाली ।
  • बालश्रम मुक्त, खुल्ला दिसा मुक्त तथा प्लास्टिक प्रयोग निषेधित क्षेत्र घोषणा  गरी कार्यान्वयनमा ल्याईएको।
  • बालमैत्री उन्मुख उपमहानगर।
  • हर्न निशेधित क्षेत्र अवलम्बन शुरु गरिएको।

-->