धरान एक परिचय

 

पूर्वाञ्चल विकास क्षेत्रमा अवस्थित धरान, नेपालकै एक सुन्दर तथा विविध सांस्कतिक विविधता भएको सहर हो । यो कोशी अञ्चलको सुनसरी जिल्लामा पर्दछ ।

हालको आधुनिक धरान शहर रहेको स्थानमा सुरुमा घना जंगल रहेको र सो जंगल फडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको धरान सहरको नामकरण भएको भन्ने भनाई छ ।

वि.स. १९५० तिर घना जंगल फडानी गरेर सानो वस्तीवाट सुरुवात भएको धरान, वि.स. १९५९ मा तत्कालिन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमसेरले चन्द्रनगर (हाल पुरानो वजार) र वि.स. १९९० तिर श्री ३ जुद्ध शमसेरले जुद्ध नगर (हाल नयाबजार) बसालेको ईतिहासमा पाईन्छ ।

वि.स. २०१० सालमा पूर्वाञ्चलको लागि ब्रिटीश गोर्खा भर्ति केन्द्र धरानमा स्थापना भए पछि मुख्य रुपमा धरानमा बसोबास तथा चहलपहल बढेको पाईन्छ । वि.स. २०१७ सालमा धरान नगरपालिका घोषित भएको धरान, वि.स. २०१८ सालमा नेपाललाई १४ अंचल ७५ जिल्लामा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकाम समेत घोषित भएको थियो ।

सुरुमा ११ वडाहरु मात्र रहेको धरानलाई वि.स.२०३५ सालमा पूर्वतर्फ रहेको वाँझगरा गाँउ पञ्चायत र पश्चिम तर्फ रहेको घोपा गाँउ पञ्चायतलाई गाभेर क्षेत्र विस्तार गरी १९ वडामा विभाजन गरियो जुन हाल सम्म कायम रहेको छ ।

विविध जाति तथा जनजातिहरुको वसोवास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान हाल आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारीक पूर्वाधरयुक्त सुन्दर शहरको रुपमा विकास हुदै पूर्वाञ्चलको मात्र नभई नेपालकै नमूना नगरपालिका बन्न प्रयासरत छ ।

धरान एक परिचय

धरान एक परिचय

धरान एक परिचय

     
 
 

अन्तिम पटक अद्यावधिक मिति २०६४ फागुन १९