FAQs Complain Problems

नगर आसपासका पर्यटकीय स्थानहरू

भेडेटार

भेडेटार

धरान देखि १६ किलोमिटर उत्तरपूर्व दिशामा अवस्थित भेडेटार सुनसरी र धनकुटा जिल्लाको संगम स्थल हो । समुन्दी सतह देखि १४२० मीटर उच्च पहाडी क्षेत्र मा रहेको र बाह्रैमास चिसो पहाडी हावा बहने हुनाले यहाँ गर्मि मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि जानेहरुको भिड लाग्दछ । यहाँ २०४० सालमा वेलायतका युवराज चार्ल्स चढी चाल्स प्वाईन्ट नामकरण भएको एउटा अग्लो चुचुरो छ । जहाँ हाल भेडेटार भ्यू टावर बनेको छ ।

वनभोज खानको लागि पूर्वी नेपालमा यो स्थान ज्यादै प्रसिद्ध रहेको छ । काम्फेक डाँडाबजार र रबी (पाँचथर मेची) रोड पनि यही बाट छुटिएको छ । यहाँ खान बस्नका लागि राम्रा होटेलहरू, बिजुली बत्ति, टेलिफोन सुविधा छ । यसका अतिरिक्त नेपाल टेलिभिजन शव स्टेसन, दूरसञ्चारको रिले टावर र कान्तिपुर एफ एम प्रसारणको टावर पनि यहाँ रहेका छन् । भडेटारबाट केही पश्चिम तिर हिँडेर गएपछि पूर्वाञ्चलकै प्रसिद्ध दोस्रो पाथीभरा देवीको मन्दिरमा पुगिन्छ । भेडेटारबाट पूर्वी तराईको रमाइलो फाँट सप्तकोसीको मनोरम दृश्य र पहाडी क्षेत्रका कुम्भकर्ण, मकालु, कंचनजंघा जस्ता हिमालहरूको दृश्य अवलोकन गर्न सकिन्छ ।

धरानबाट भेडेटार सम्म जानका लागि यातायातका साधनहरूमा धरान धनकुटा रुटमा चल्ने वसहरु र रिजर्भका लागि ट्याक्सी तथा भेनहरु धरान भानुचोकमा सजिलै पाइन्छ ।

 

बराह क्षेत्र

कोशीटप्पु वन्य जन्तु आरक्षण केन्द्र

धरान देखि २१ कि.मी. पश्चिम उत्तर दिशामा कोका नदी र सप्तकोसीको संगम स्थलमा वराहक्षेत्र मन्दिर रहेको छ । ऐतिहासिक पुरातात्त्विक तथा प्राकृतिक दृष्टिकोणबाट पनि अत्यन्तै महत्वपूर्ण र मनोरम रहेको वराहक्षेत्र हिन्दूधर्मका चार पौराणिक क्षेत्रहरू मध्ये नेपालमा पर्ने २ क्षेत्रहरु (मुक्तिनाथ क्षेत्र र वराहक्षेत्र) मध्ये एक हो ।

हिन्दू धर्म ग्रन्थका अनुसार विष्णु भगवानका दश अवतारहरू मध्ये तेस्रो अवतार (बनेलरुप) बराह भगवानले यस स्थानबाटै जल समाधिस्थ पृथ्वीलाई पानीबाट माथि उठाई उद्धार गरेको कुरामा विश्वास गरिन्छ ।

यहाँ पितृ तर्पण (श्राद्ध) गर्न, विवाह व्रतबन्धका अतिरिक्त प्राकृतिक सौन्दर्य, मनमोहक पहाडी दृश्य तथा नौका विहार (र्‍याफटिङ्ग) का लागि पनि मानिसहरू आउने गर्दछन् ।

कार्तिक शुक्ल एकादशी देखि पूर्णिमा सम्म र माघे सक्रान्तिमा लाग्ने विशेष मेलामा भारत तथा भुटान देखि पनि तीर्थ यात्रीहरू आउने गर्दछन ।

 

विष्णु पादुका

विष्णु पादुका

वराहक्षेत्र देखि ४ कि.मि. उत्तर, धरानबाट ४ कि.मि. उत्तर पश्चिमको बाटो २ घण्टाको पैदल यात्रा गरी पुगिने विष्णु पादुका मन्दिर महाभारत पर्वतको फेदी र कोका नदीको सिरानमा अवस्थित छ । मन्दिर भित्र पदचिह्न अंकित ढुंगा रहेको छ जसलाई भगवान विष्णुको पदछाप मानी विष्णु पादुका नामकरण गरिएको हो ।

विष्णु पादुकामा विष्णु भगवानले लक्ष्मी (बराही पृथ्वी) सहित भएर अर्षमा आदि दिव्य पितृहरूको श्राद्ध गरेका थिए भनी ब्रह्मपुराणको ११० अध्यायमा स्पष्ट उल्लेख भएको छ । तसर्थ भारत वर्षको गया भन्दा धेरै प्राचीन र महत्वपूर्ण तीर्थको रूपमा धर्मशास्त्रहरूले नै स्विकारेकोले पितृ श्राद्ध तर्पणका लागि यहाँ हिन्दू धर्मावलम्बीहरु विशेष गरेर पौष कृष्ण औशीको दिन अपार भीडका साथ श्राद्ध गर्न आउने गर्दछन् ।

कोका खोला, पहाड र जंगलको रमणीय संगमका कारण वनभोज र पर्यटकहरूको लागि आकर्षण त छदैछ यसका अतिरिक्त किरांत कालीन प्राचीन अवशेष प्रशस्त पाइने भएकोले ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ ।

 

अखण्ड रामधुनी

धरान देखि झुम्का हुँदै ३२ किमि जति दक्षिण पश्चिममा वरिपरि घना जंगलले घेरिएको फलफूल बगैँचाका बीचमा अखण्ड रामधुनी मन्दिर रहेको छ । यस मन्दिरमा जलीरहेको धुनि त्रेतायुगमा भगवान रामचन्द्रजी वनवास कालमा सिकारको खोजी गदै यहाँ आई पुग्दा रात परे पछि जलाएको धुनी नै निरन्तर जलीरहेको भन्ने विश्वास छ र कथम् कदाचित् सो धुनी निभेमा धरानको पिण्डेश्वर बाबा धाममा रहेको अखण्ड दीपबाट आगो ल्याई प्रज्वलित गर्नु पर्ने मान्यता रहेको छ ।

यहाँ धुनीको अतिरिक्त सेतो र कालो शालिग्राम ढुगां र शालीग्रामको शिव मूर्ति दर्शनीय छ । विशेषतः यहाँ विवाह पंचमी, वाला चतुर्दशी र रामनवमीका दिन धार्मिक मेला लाग्ने गर्दछ । पर्यटन सूचना केन्द्रले आगन्तुकहरूको सुविधाको लागि यहाँ धर्मशाला स्थापना गरेको छ ।

रामधुनी सम्म जानका लागि बाटोको सुविधा छ । झुम्का (भादगाउँ, सिनिवारी गा‌.वि.स.) बाट रामधुनी सम्म नियमित यातायात नचल्ने हुनाले पैदल यात्रा गर्दा करिब ४५ मिनेटमा पुग्न सकिन्छ भने रिजर्भका लागि ट्याम्पो ट्याक्सी सजिलै पाउन सकिन्छ ।

 

कोशी टप्पु वन्य जन्तु आरक्षण केन्द्र

अवस्थिति: सुनसरी जिल्लाको पश्चिममा सप्तकोसी नदीको तटमा रहेको ।
कूल क्षेत्रफल: १७५ वर्ग कि.मि
स्थापना: 2032 साल (सन 1976)
मुख्य आकर्षण: अर्नाहरू (जंगली भैँसी) नेपालमा

अन्य जीवजन्तु:

विश्वमानै दुर्लभ मानिएका चराचुरुगीहरु सहित 655 प्रजातिका चराचुरुंगीहरु पाइने ।
15 प्रकारका घस्रिने जीवहरू पाइने ।
23 प्रकारका साना ठूला जनावर पाइने ।
105 प्रकारका माछा पाइने ।

अन्य विशेषता:
अर्ना, हरिण, रतुवा, नीलगाई, पुड्के, बाँदर आदि जनावर पाईने ।
जाडो मौसममा रूसको साईवेरिया, मंगोलिया, चीन, तिब्बत, काजस्थान, अफगानिस्तान, स्पेन, इरानबाट चराहरू बसाइ सरेर आउने गरेको ।
लोसार ठूलो धनेश सुल्तानरीट प्याराडाइज फिसिङ इगल टफटेड सोभलरडक ब्रेस्टेट ब्रान्डेट रेल किङ फिसर आदि संसारमा नै दुर्लभ चराहरु पाइने ।
एक दीनमा एक सय भन्दा बढी चराहरू देख्न सकिने ।
कोशीले बनाएको टापुहरू जलचर थलचर उभयचर प्राणीहरू पाइने ।

धरानबाट सुविधा:
धरानबाट 50 कि मि पश्चिममा रहेको ।
भानुचौकमा रिजर्भका लागि ट्याक्सी पाइने । साथै धरानबाट पश्चिम जाने वसमा गइ कुसाहा नहरबाट करिब 30 मिनेट पैदल यात्रा पछि पुग्न सकिन्छ ।