FAQs Complain Problems

जनसहभागिताको नमुना सहर धरान

धरानलाई जनसहभागिताको नमुना सहर पनि भनिन्छ । धरानमा सफल रूपमा सञ्चालित विभिन्न जनसहभागिताका योजनाहरू तथा धराने जनताहरूको सक्रिय सहभागिता अध्ययन अवलोकन गर्न मानिसहरू धरान आउने गर्दछन् । नगरलाई दिगो, सन्तुलित, योजनाबद्ध, शिक्षा, स्वास्थ्य, पर्यटन र व्यापारिक केन्द्रको रूपमा विकास गर्न स्थानीय साधन स्रोतको परिचालनका लागि जनसहभागिताको अवधारणा धरान नगरपालिकाको मुख्य रूपमा लिएको छ ।

धरान नगरपालिकामा जनसहभागिताको इतिहास हेर्दा २०३५ साल देखिनै सुरुवात भएको पाइन्छ । तर जनसहभागिताको सक्रिय सुरुवात भने आर्थिक वर्ष २०५४।५५ देखि भएको हो । जनसहभागिताको सुरुका दिनहरूमा उपभोक्ताहरूको २५ तथा ४० प्रतिशत र नगरपालिकाको ७५ तथा ६० प्रतिशत लागतको आधारमा योजनाहरू सञ्चालन गरिएकोमा पछि आएर क्रमशः न.पा. र जनसहभागिता ५०।५० प्रतिशत सम्मको लागतमा समेत योजनाहरू सम्पन्न भएका छन् ।

सडक ढल मात्र नभई जनसहभागिताबाट नै विभिन्न वडा समिति भवनहरू, विद्यालय भवनहरू तथा शौचालयहरू समेत निर्माण भएका छन् । धरान नगरपालिकाको जन सहभागिताको अर्को उदाहरणीय पक्ष आफूले बनाएको सडक तथा ढलको सर सफाइ त्यसको संरक्षण सम्वर्द्धन उपभोक्ता आफैले गर्नु रहेको छ । उपभोक्ताहरू आफै आफ्नो घर अगाडिको बाटो दैनिक तथा साप्ताहिक रूपमा सरसफाइ गर्ने, आफूले निर्माण गरेको सडकहरूमा गोरु गाडी तथा सडक मापदण्ड भन्दा बढी भार बोकेका सवारी साधनलाई प्रवेश निषेध गर्ने तथा बढी गतिमा सवारी चलाउन निषेध गर्ने जस्ता कार्यहरू गर्ने गर्दछन् ।

धरान नगरपालिकामा भौतिक संरचना निर्माणमा मात्र नभई शैक्षिक विकासका लागि जस्तै वाल विकास केन्द्रको निर्माण तथा सञ्चालन, विद्यालयहरू सञ्चालन र स्वास्थ्य सेवाको क्षेत्रमा मातृ शिशु स्वास्थ्य क्लिनिकहरू सञ्चालन गर्ने जस्ता कार्यहरूमा पनि जनसहभागिता भएको छ ।

त्यस्तै मुख्य रूपमा धरान हङकङ मञ्च (हङकङमा गएर बसेका धरानेहरू), मकाउमा बस्ने धरानेहरू र धरान नगरवासी सहित धरान नगरपालिकाको सहयोगमा धरानको भानुचोकमा निर्माण भएको धरान घण्टाघर नेपालका अन्य नगरपालिकाहरूका लागि पनि जनसहभागिताको एउटा नमुना बन्न पुगेको छ ।

नेपाल सरकारको निजी क्षेत्रलाई सहभागी गराई दिगो विकास गर्ने नीतिलाई धरान नगरपालिकाले जनसहभागिताको माध्यमबाट अवलम्बन गरी नगरको पूर्वाधार विकासको सुरुवात गरेको छ । धरानको विकास निर्माणमा आर्थिक तथा शारीरिक श्रम दुवै प्रकारको जनसहभागिता हुने गरेको छ ।