संविधान दिवस २०७५ भव्यताका साथ मनाइयो

“संविधान दिवस २०७५” धरान उपमहानगरपालिकाद्वारा विभिन्न कार्यक्रम गरी भव्यता तथा उत्साह साथ मनाइयो।असोज २ गते धरानको भानु चोक लगायत नगरका मुख्य चोकहरुमा राष्ट्रिय झण्डा फहराइयो।

संविधान दिवस असोज ३ गतेका दिन बिहान ७ बजे धरान उपमहानगरपालिका प्राङ्गणमा भेला भई सुरु भएको प्रभातफेरी भानु चोक सम्म पुगेर कोण सभामा परिणत भयो, जसलाई उपमहानगरपालिकाका कार्यवाहक प्रमुख श्री मञ्जु भण्डारी सुवेदिले सम्बोधन गर्नु भयो। उक्त कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका पदाधिकारीहरु, जनप्रतिनिधीहरु र सर्वसाधारणहरुको उत्साहजनक उपस्थिति रहेको थियो। सोहि दिन बिहान ११ बजे सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो। जसमा विभीन्न विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो।

असोज ४ गते बिहान १० बजे सुनसरी उद्योग वाणिज्य संघकै सभाहलमा संविधान सम्बन्धि अन्तरकृया कार्यक्रम आयोजना गरिएको थियो।सो कार्यक्रमको प्रमुख आतिथ्यता प्रदेस नं. १ का सभामुख माननीय श्री प्रदिप कुमार भण्डारी ज्युले गर्नु भएको थियो। उक्त कार्यक्रममा संविधानविद्व श्री टिकाराम भट्टराईले संवैधानिक हक, मुलुकी देवानी र फौजदारी संहिताका बारे वक्तव्य राख्नु भयो।त्यस्तै वरिष्ठ अधिवक्ता श्री रुद्र नेपालले संवैधानिक हक र स्थानीय सरकार सञ्चालन ऐनमा प्रकाश पार्नु भयो।

संविधान दिवस मनाउने क्रममा असोज २,३ र ४ गते तीनै दिन साँझमा घर, टोल तथा कार्यालयमा दिपावली गरिएको थियो।

संविधान दिवस मनाउने सबै भन्दा उत्तम तरिका भनेको संविधानको पालना गर्नु हो। त्यसैले हामी सबै नगरवासीले संविधानको मन, वचन र कर्मले पालना गरौ।